जनकपुरधाम, २४ बैशाख । तराई मधेश लोकतान्त्रिक पार्टीले नागरिकता विधेयक, २०७९ बारे छलफल भइरहेकोमा खुशी व्यक्त गरेको छ ।

तमलोपाले विगत लामो समयदेखि नागरिकता विधेयक प्रमाणिकरण हुनुपर्ने माग गर्दै आएको छ ।

तमलोपाले सबै संवैधानिक र कानूनी प्रक्रिया पूरा गरिसकेको विधेयकलाई प्रमाणिकरण नगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको घोर उल्लंघन गरेको बताउँदै आएको छ ।

यस सम्बन्धमा तमलोपाले विज्ञप्ति, जुलुस, ज्ञापनपत्र, पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आएको छ ।

चार पार्टी सम्मिलित लोकतान्त्रिक मधेशी मोर्चाले समेत यो विषय समेटेर जिल्ला प्रशासन धनुषामार्फत प्रधानमन्त्रीलाई ११ सूत्रीय ध्यानाकर्षण पत्र बुझाएको तमलोपाको सञ्चार  विभाग हेर्ने केन्द्रीय सदस्य उमेशकुमार मण्डलले बताए ।

नेता मण्डलले विधेयक शिघ्र प्रमाणिकरण हुने आशा व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीको गल्ती सच्याउनु नै वर्तमान राष्ट्रपतिको देश, संविधान, जनता र लोकतन्त्रप्रतिको पहिलो कर्तव्य भएको बताए ।

विधेयक प्रमाणिकरण बारे राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सत्तारुढ गठबन्धन र आइतबार कानून विज्ञहरुसंग परामर्श गरेका छन् ।

कानून विज्ञहरुले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गर्न कुनै कानूनी बाधा नरहेको बताएका छन् ।