सर्लाही, २४ बैशाख । सर्लाहीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका–१ मोहनपुरका २२ वर्षीय पप्पु बैठा र हरिपुर्वा नगरपालिका–८ का ६० वर्षीय रामउगर राय यादव रहेका छन् ।

जिल्लाको हरिपुर नगरपालिका–४ हरैयामा भारतीय बीआर ३० ए २७२१ नम्बरको डिजे बोकेको गाडीले ठक्कर दिँदा २२ वर्षीय पप्पु बैठाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका बैठाको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि गाडी चालक सर्लाहीकै कविलासी नगरपालिका–७ गैरका नागेन्द्र कुशवाहा फरार छन् ।

त्यसैगरी सर्लाहीकै हरिपुर्वा नगरपालिका–५ मा बीआर ३० के ५२१२ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते हरिपुर्वा–८ का ६० वर्षीय रामउगर राय यादवको उपचारका क्रममा बर्दिवासको एक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि मोटरसाइकल चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।