टोपबहादुर मेरो सम्पर्कमा हुनुहुन्न : अध्यक्ष ओली

काठमाडौं, २३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिव टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताएका छन् ।
शनिबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको एक घण्टा लामो छलफलपछि पत्रकारको प्रश्नमा उनले रायमाझी आफ्नो सम्पर्कमा नभएको बताएका हुन् ।
‘पूर्वमन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छे त्यसरी हराउँछन् र भन्नुभएको थियो । अहिले त हराइराखेका छन् । कहाँ बस्नुभएको छ उहाँ ?,’ ओलीलाई एक पत्रकारले प्रश्न सोधे । त्यसको जवाफमा उनले भने, ‘तपाईंहरूले खोज्नुस् न । मेरो सम्पर्कमा हुनुहुन्न ।’
यस्तै अभियुक्तलाई बचाउन लागेको आरोप छ भन्ने प्रश्नमा केही मान्छेहरूले त्यस्ता खालका हल्ला फैलाउने काम गरेको ओलीले बताए ।
‘तपाईंहरूलाई विश्वास लाग्यो त्यस्तो कुरा ? केही यस्ता खालका मान्छेहरू छन्, बेइमानीमा भरपर्ने, त्यस्ताहरूले हल्ला चलाउँछन् ।’
रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएपछि प्रचण्ड र ओलीबीच दोस्रो पटक वार्ता भएको हो ।
नेकपा एमालेका सचिव रायमाझी अहिले फरार छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रकम ठगी गरेको प्रकरणमा प्रहरीले उनीविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।
प्रहरीले यस घटनामा यसअघि ९ जनालाई पक्राउ गरिसकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


