सिरहा, २३ बैशाख । सिरहाबाट करिब १४ किलो लागुऔषध गाँजासहित दुई युवक पक्राउ परेका छन् ।

प्रहरीले जिल्लाको गोलबजार नगरपालिका–४ शिवमन्दिर नजिकबाट १३ किलो ८ सय ४० ग्राम गाँजासहित गोलबजार नगरपालिका–१ मुक्सारका २६ वर्षीय महेन्द्र साह र वडा नम्बर–२ का ३६ वर्षीय श्याम कुमार साहलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा गोलबजार नगरपालिका–४ शिवचोक नजिक पार्किङ गरिराखेको प्रदेश–२–०१–००२ ह ०२९८ नम्बरको अटोमा लुकाइछिपाई राखेको ५ किलो ८४० ग्राम गाँजासहित महेन्द्र र प्र. २–०१–००१ ह. १०५६ नम्बरको अटोमा लुकाइछिपाई राखेको ८ किलो गाँजासहित श्यामलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

विशेष सुराकीको आधारमा केन्द्रीय अनुसन्धान लागुऔषध विशेष ब्युरो र इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख सई विश्व बुढाथोकीको कमाण्डमा खटिएको टोलीले गाँजासहित दुवैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।