काठमाडौं, २३ बैशाख । सरकारले जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमणमा कडाइ गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र जारी गर्दै जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमणमा कडाइ गरेको हो ।

यसअघि भएका यस्ता वैदेशिक भ्रमणका कतिपय कार्यक्रमको औचित्य नदेखिएको मन्त्रालयको परिपत्रमा उल्लेख छ ।

अत्यावश्यक र औचित्यपूर्ण अवस्थाबाहेक वैदेशिक भ्रमण स्वीकृतिका लागि नपठाउन मन्त्रालयले जिल्ला समन्वय अधिकारी र पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छ ।

आधिकारिकता पुष्टि हुन नसक्ने तथा गलत कागजात तयार गरी पठाएका अनुरोध पत्रमाथि मन्त्रालयले कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।