नक्कली शरणार्थी प्रकरणमा संलग्न जोकोहीलाई पनि कारबाही हुन्छ : उपाध्यक्ष महरा

काठमाडौं, २३ बैशाख । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नक्कली शरणार्थी प्रकरणमा संलग्न जोकोहीलाई पनि कारबाही हुने बताएका छन् ।
शनिबार संवाद डबलीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता महराले सरकारभित्र भएपनि वा बाहिर भएपनि सो प्रकरणका दोषीमाथि कारबाही हुने बताएका हुन् ।
उनले सो प्रकरणमा संलग्नहरुलाई कारवाही गर्ने कुरामा कुनै पनि खालको भेदभाव नहुने बताए । महराले भने, ‘जो दोषी छन् । तिनी कारबाहीको दायरा भित्र पर्दछन् । जो दोषी छैन, त्यो त कारबाहीको दायरा भित्र पर्ने कुरा भएन । सरकार भित्र हुन वा बाहिर, दोषीलाई कारबाही हुन्छ । त्यसमा कुनै भेदभाव हुँदैन ।’
उपाध्यक्ष महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकार नढल्ने दाबी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि बहुमत रहेकाले वर्तमान सरकार कायमै रहने उनको तर्क थियो ।
उनले सरकारलाई विश्वासको मत लिन पनि कुनै समस्या नभएको बताए । उपाध्यक्ष महराले समाजवादी मोर्चा घोषणाका लागि आफूहरू प्रयासरत रहेको समेत बताए । त्यसका लागि नेकपा (समाजवादी पार्टी), जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपासहितका ६ वटा राजनीतिक पार्टीसँगको छलफल जारी रहेको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


