रौतहट, २३ बैशाख । रौतहट प्रहरीले चोरीको मोटरसाइकलसहित पक्राउ परेका तीनजनालाई सार्वजनिक गरेको छ ।

पछिल्लो केहीदिन भित्रै रौतहटका विभिन्न ठाउँबाट चोरी भएको तीनवटा मोटरसाइकल बरामद गरी प्रहरीले चोरीमा संलग्न तीनजना आरोपी चोरलाई सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले खोजतलास गरी बरामद गरेको मधेस प्रदेश ०२–००५ प ९४२५ नम्बरको यामाहा कम्पनीको मोटरसाइकल, ना.४६ प ६२४७ नम्बरको हिरो कम्पनीको सुपर स्पेलेण्डर मोटरसाइकल र बा. ६९ प ९३६१ नम्बरको बजाज कम्पनीको २०० सिसीको मोटरसाइकल चोरी गरेको आरोपमा तीनैजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीका १९ वर्षीय श्याम महतो, १९ वर्षीय नजरे नदाफ र सप्तरीका २० वर्षीय सिद्धार्थ महतो रहेको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका डिएसपि एकनाराण कोइरालाले बताए ।

मोटरसाइकलसहित पक्राउ परेका तीनैजनालाई रौतहट जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद थप गराई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।