काठमाडौं, २३ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने बताएका छन् ।

रफ्त सञ्चार क्लवले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले आफ्नो पार्टी सरकारको निरन्तरताको पक्षमा रहेको बताएका हुन् ।

उनले भने, ‘सुशासन र विकासको अभियान गतिका साथ अगाडि बढाउने । शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रहरुमा परिवर्तन गरी अगाडि बढाउने मुख्य अभिभारा सरकारको हो । त्यसका लागि सरकारको स्थिरता आवश्यक छ ।दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैले हित हुँदैन । र, दिनैपिच्छे सरकार परिवर्तन गरिराख्नु पनि गलत हो ।’
अध्यक्ष यादवले सरकारले सुशासन, विकास र समृद्धिको मुख्य अभिभारालाई पूरा गर्दै लैजानुपर्ने आवश्यक्ता रहेको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि सरकारलाई फरक नपर्ने बताए ।

यादवले सरकार परिवर्तन गरिराख्ने कुरा गलत भएको बताए । राजनीतिक स्थिरताका साथ मुलुकलाई अघि बढाउन आफूहरुले वर्तमान सत्तारुढ गठबन्धन निर्माणमा योगदान गरेको उनको भनाई थियो ।

अध्यक्ष यादवले मुलुकलाई संकटबाट जोगाउन वित्तीय नीतिमै परिवर्तन गरेर अघि बढ्न पनि सरकारलाई सुझाव दिए ।थुप्रिएर रहेको पूँजी उत्पादनमूलक क्षेत्रमा परिचालन गरेर मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकिने उनले बताए ।