काठमाडौं, २२ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट समर्थन फिर्ता लिएको छ ।

शुक्रबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समितिको बैठकले रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको हो ।

रास्वपाले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गर्दै समर्थन फिर्ता लिएको छ ।

रास्वपाले समर्थन फिर्ता लिएर विपक्षी बेञ्चमा बस्ने निर्णय गरेको एक नेताले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमा सहभागी गराउन पहल गर्दै आएपनि रास्वपाले जनतामा जाने निर्णय गरेको ति नेताले बताए ।

पार्टी सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि उनको सांसद पद गएको थियो । त्यसपछि रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन भने हालसम्म कायमै रहेको थियो ।

रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर पुस १० गते प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा सहभागी भएको थियो । माघ २२ गते सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता लिएको थिएन ।

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ ।