काठमाडौं, २२ बैशाख । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न आफू प्रयासरत रहेको बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीका लागि शुक्रबार पूर्व अर्थमन्त्रीहरुसँग छलफल गर्दै डा. महतले यसकालागि सबैबाट सहयोगको अपेक्षा रहेको बताएका हुन् ।

पूर्वानुमानको तुलनामा धेरै कम राजस्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनाहरुलाई मात्र बजेट छुट्टाउने र नीजि क्षेत्रको आत्म विश्वास बढाउने गरी बजेट निमार्णमा लागि परेको उनले बताए ।

छलफलमा पूर्व अर्थमन्त्रीहरुले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजनाहरु थप नगर्न सुझाव दिए ।

अर्थमन्त्री महतले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने बताए । यसका लागि पूर्व अर्थमन्त्रीहरुबाट निरन्तर सुझाव प्राप्त हुने आशा उनले व्यक्त गरे ।

छलफलमा पूर्वअर्थमन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशचन्द्र लोहनी, डा. युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी थिए ।