काठमाडौं, २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा आर्थिकरूपमा देखिएको अस्थिरता र प्रतिकूल अवस्था समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा शुक्रबार रामग्राम स्तूपमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो भनेका हुन् ।

उनले भने, ‘आर्थिकरूपमा देशमा अहिले जे जस्तो परिस्थिति देखिएको छ, त्यसको समाधान गर्ने हिसाबले सुशासन र सामाजिक न्याय स्थापित गर्ने कुरामा हामी अघि बढिरहेका छौँ ।’

प्रधानमन्त्री प्रचण्डले बृहत्तर लुम्बिनी विकासको गुरुयोजनाअन्तर्गत रामग्राम स्तूप एक महत्त्वपूर्ण धार्मिक एवं पर्यटकिय स्थल रहेको बताए । बुद्ध दर्शनले लाखौँ मानिसलाई सामाजिक ऐक्यबद्धता र सद्भावको मार्गमा डोर्याउन महत्त्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे ।

बुद्ध सर्किटको अवधारणाअन्तर्गत चार वर्षअघि तयार भएको गुरुयोजनाको बारेमा चर्चा गर्दै प्रधानमन्त्री दाहालले रामग्राम स्तूप र बुद्धसँग जोडिएका हरेक धार्मिक स्थलको विकास गर्न सरकार तत्कालै अघि बढ्ने बताए ।

सो अवसरमा श्रीलङ्काबाट उपहारस्वरूप प्राप्त भएको भगवान् गौतम बुद्धको अस्तुधातुको अवशेष प्रधानमन्त्रीलाई देखाइएको थियो ।

भगवान् गौतम बुद्धको एक मात्र अस्तुधातु रहेको ऐतिहासिक धार्मिक स्थलको रामग्राम नगरपालिकाले संरक्षण गर्दै आइरहेको छ ।