जिल्ला प्रशासन कार्यालय सर्लाहीको सेवा शुक्रबारदेखि सुचारु

सर्लाही, २१ बैशाख । जिल्ला प्रशासन कार्यालय सर्लाहीको प्रतिलिपि फाँटमा आगलागी भएपछि अवरुद्ध भएको सेवा शुक्रबारदेखि पुनः सुचारु हुन लागेको छ ।
मंगलबार विद्युत् सर्ट भएर जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलागी भई विभिन्न उपकरणमा क्षति पुगेपछि सेवा अवरुद्ध गरिएको थियो ।
मलंगवास्थित जिल्ला प्रशासन कार्यालयको प्रतिलिपी फाँटमा मंगलबार विहान करिब ५ बजेर ४० मिनेटमा विद्युत सर्ट भई आगलागी भएको थियो ।
आगलागीबाट प्रतिलिपी फाँटको कम्प्यूटर, प्रिन्टर, स्क्यानरमा क्षति पुगेको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आगो निभाउने क्रममा राहदानी फाँटका कम्प्यूटर, प्रिन्टर, स्क्यानर समेतमा क्षति पुगेको बताए ।
आगलागीका कारण कार्यालयमा क्षति पुगेकाले कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह बन्द गरिएको थियो । क्षतिग्रस्त वाइरिङ मर्मतको काम पूरा भएको र नागरिकता प्रतिलिपी फाँटमा कम्प्युटर, प्रिन्टर तथा स्क्यानरको व्यवस्था समेत मिलाएर शुक्रबारदेखि सेवा नियमित गर्न लागिएको प्रशासकीय अधिकृत राजकुमार थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


