काठमाडौं, २१ बैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आफ्नो औचित्य पुष्टि हुनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने बताएका छन् ।

सरकारको ध्यान आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण केन्द्रित भएको बताउँदै मन्त्री बस्नेतले सरकारले डेलिभरीको कामलाई थप प्रभावकारी बनाउने प्रयास गरिरहेको बताएका हुन् ।

जल तथा मौसम विज्ञान विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनताका अपेक्षा पूरा गर्नका लागि सरकारको हालसम्मको अवधिलाई तयारीको अवधिको रुपमा लिनुपर्ने बताएका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटपछि जनताको अपेक्षाअनुसार सरकारले काम सुचारु गर्ने उनको भनाइ थियो । मन्त्री बस्नेतले मौसम पूर्वानुमानलाई भरपर्दो बनाउनका लागि सरकारले उचित ध्यान दिने पनि बताए ।