धनगढी, २१ बैशाख । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना र डेंगुबाट संक्रमित एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले नसासम्बन्धी रोगको उपचार गराउन अस्पतालमा भर्ना गरिएका युवकको यही वैशाख १७ गते पिसिआर पद्धतिबाट नमुना जाँच गराउँदा कोरोना ‘पोजेटिभ’ देखिएको जानकारी दिए ।

त्यसको दुई दिनपछि पुनःनमुना जाँच गराउँदा डेंगुकोसमेत संक्रमण देखिएपछि थप उपचारका युवकलाई भेन्टिलेटरमा राखिएको उनले बताए । युवकको अस्पतालमै गत चैत २५ गते नसासम्बन्धी समस्याको शल्यक्रिया गरिएको जनाइएको छ ।

यसअघि यही वैशाख ३ गते अस्पतालको सघन उपचार कक्षमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको थियो । सुदूरपश्चिम प्रदेशमा गत चैत महिनादेखि कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ ।

संक्रमण दर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो ।

खासगरी सीमानाका हुँदै भारतबाट भित्रिने अधिकांश नागरिकमा कोरोना भाइरसको संक्रमण देखिने गरेको छ । कोरोना बढ्दै गए पनि तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरबाहीले रोगको संक्रमण थप बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।