काठमाडौं, २१ बैशाख । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा प्रहरीले सन्दीपलाई बुधबार बुटवलबाट पक्राउ गरेको थियो । उनलाई बिहीबार बिहान काठमाडौं ल्याएर प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको हो ।

अदालतबाट उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएसँगै अब काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । टोपबहादुर भने अहिलेसम्म पक्राउ परेका छैनन् ।

मंगलबार मात्र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । यसअघि पक्राउ परेका व्यक्तिहरूले बयानमा राईलाई पनि रकम बुझाएको खुलेपछि उनलाई पनि पक्राउ गरिएको हो ।

यो प्रकरणमा प्रहरीले यसअघि केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ ।