एक हजारभन्दा बढी सवारीसाधन वीरगञ्जस्थित आईसीपीमा थन्किए

पर्सा, २१ बैशाख । आयात कर्ताले सवारी साधन जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारीसाधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी आईसीपीमा थन्किएका छन् ।
बजारमा सवारी साधनको माग घटेको र बैंकहरुले समेत विलासिताको वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले सवारी साधन जाँचपास गराएर नलग्दा आइसीपीमै सवारीसाधन थन्किएका हुन् ।
आयात गरेका सवारीसाधन व्यवसायीको शोरुम वा गोदममा हुनुपर्नेमा महँगो मूल्यका सवारी साधन यही लामो समयसम्म थन्किँदा समस्या भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख डिल्लीराम पन्थीले जानकारी दिए ।
उनका अनुसार भारतबाट आयात भएर आएका साना र ठूला गरी १ हजार ९०९ वटा सवारी साधन भन्सारमै थन्किएको छ । आयात भएका कार/जीप ६२९ वटा, बस ३४ वटा, ट्रकका चेचिस ८४४ वटा, नयाँ चेचिस ३८६ र ट्र्याक्टर १० गरी १ हजार ९०९ वटा सवारी साधन भन्सारमा थन्किएको प्रमुख पन्थीले बताए ।
भन्सारमा सवारीसाधन थन्किनुको प्रमुख कारण राष्ट्रिय अर्थतन्त्रमा देखिएको मन्दी भएको प्रमुख पन्थीको भनाइ छ । ‘भन्सार प्रशासनको कारणले भन्दा पनि मुलुकको अर्थतन्त्रमा देखिएको तरलता नै यसको प्रमुख कारण हो’, प्रमुख पन्थीले भने, ‘आयातकर्ताले आयात गरेर त ल्याउनुभयो, तर बजारमा सवारी साधनको खासै माग छैन ।’
आयातकर्तालाई गाडी छिटो लैजान र आइसीपीमा ठाउँ खाली गरिदिन आग्रह गर्दै आएपनि थोरै थोरै गरेर मात्र गाडी भन्सार जाँचपास गरेर लगिरहेको प्रमुख पन्थीले बताए । सरकारले विलासिताको वस्तु आयातमा रोक लगाएपछि वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनसमेत प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को साढे ९ महिनाको अवधिमा लक्ष्यको ५९ दशमलव ८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्षको २०७९ साउनदेखि २०८० वैशाख १८ गतेसम्ममा २ खर्ब ४ अर्ब ९१ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ५९ दशमलव ८२ प्रतिशत अर्थात् १ खर्ब २२ अर्ब ५७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।
सो भन्सार कार्यालयको चालु आव २०७९/८० मा २ खर्ब ६० अर्ब ९७ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य छ ।हालसम्म वार्षिक लक्ष्यको ४७ प्रतिशत मात्र राजस्व सङ्कलन भएको सूचना अधिकारी ढकालले बताए ।
सो भन्सार कार्यालयले गत आव २०७८/७९ मा लक्ष्यको ९३ प्रतिशत र आव २०७७/०७८ मा लक्ष्यको ९७ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । चालु आवमा पनि लक्ष्यअनुसार राजस्व सङ्कलन हुने सम्भावना कम रहेको उनको भनाइ छ ।
समग्रमा आयात घट्नु, राजस्वमा बढी योगदान गर्ने वस्तुको आयातमा प्रतिबन्ध तथा एलसी खोल्नमा कडाइ पनि गरिएकाले राजस्व सङ्कलन घटेको जनाएको छ ।
सरकारले मदिरा, मोबाइल, गाडीको आयात खुला गरे पनि आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले अझै केही महिना यस्तै अवस्था हुने उनको भनाइ छ । यता व्यवसायीले सरकारको मौद्रिक नीतिका कारण सवारीसाधान बिक्रीमा आएको ह्रास र व्यवसायीको लगानी गर्ने क्षमतामा आएको कमीले सवारी साधन भन्सारमै थन्किएको बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


