सरकारले एसिसी कप विजेता खेलाडीलाई जनही ६ लाख दिने

काठमाडौं, २० बैशाख । सरकारले एसिसी प्रिमियर कप विजेता नेपाली क्रिकेटर र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले क्रिकेट खेलाडीलाई जनही ६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
यस्तै, मन्त्रिपरिषद् बैठकले त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने पनि निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
मंगलबार यही मैदानमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै एसिसी प्रिमियर कपको उपाधि जितेको थियो । योसँगै नेपाल एसिया कपका लागि छनोट भएको छ ।
नेपालले आउँदो सेप्टेम्बरमा हुने एसिया कपको समूह चरणमा भारत र पाकिस्तानसँग खेल्नेछ । यस्तै, समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


