एजेन्सी, २० बैशाख । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फरवार्ड लियोनल मेस्सीलाई दुई सातासम्मका लागि निलम्बन गरेको छ ।

अनुमतिबिना साउदी अरबको भ्रमण गरेपछि पिएसजीले उनलाई दुई साताका लागि निलम्बन गरेको हो ।

निलम्बन अवधिमा मेस्सीले पिएसजीको प्रशिक्षण र खेलमा सहभागी हुन पाउने छैनन् । क्लबले उनलाई जरिवानासमेत गरेको छ । मेस्सी साउदी अरेबियाको पर्यटन राजदूतको भूमिकामा रहेका छन् ।

उनले व्यावसायिक कामका लागि क्लबसँग यात्रा गर्न अनुमति मागेका थिए । तर, क्लबले अस्वीकार गरेको बताइएको छ । पिएसजीसँगको मेस्सीको दुई वर्षको सम्झौता यही समरमा सकिँदैछ ।

उनले हालसम्म पिएसजीका लागि ७१ खेलमा ३१ गोल गरेका छन् ।