जनकपुरधाम, २० बैशाख । नेपाल पत्रकार महासंघ धनुषा शाखाले ३०औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरि निकालेको छ ।

महासंघ धनुषाका अध्यक्ष मनिका झाको अध्यक्षतामा स्थानीय जानकी मन्दिरबाट निस्केको प्रभातफेरि नगर परिक्रमा गर्दै पत्रकार महासंघ पुगेर समापन गरिएको थियो ।

‘स्वतन्त्र एवंं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा बुधबार विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको हो ।

संयुक्त राष्ट्र संघीय निकाय युनेस्कोको आयोजनामा नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसलाई नै आधार मानेर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइन्छ ।

घोषणा पत्र जारी गरेको दिनको सम्झनामा सन् १९९३ देखि हरेक बर्ष यो दिवस पत्रकारहरुले उत्सवको रुपमा मनाउँदै आएका छन् ।

संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेसँगै नेपालमा पनि मे ३ का दिन पत्रकार महासंघलगायत सञ्चार संघसंस्थाहरुले विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।