काठमाडौं, २० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसका तीनजना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका हुन् ।

कांग्रेस उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई बुधबार नै राष्ट्रपतिले मन्त्री नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुको बिहीबार दिउँसो ३ बजे शपथ ग्रहण हुने राष्ट्रपति कार्यालयका एक अधिकारीले जानकारी दिए ।

मन्त्रिपरिषद २२ सदस्यीय भएपनि अझै पूर्णता पाउन सकेको छैन । वन तथा वातावरण र खानेपानी मन्त्रालय अहिलेपनि खाली छ ।

२२ सदस्यीय मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट ८, नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित ५ मन्त्री र २ राज्यमन्त्री गरी ७, जनता समाजवादी पार्टीबाट १, नेकपा एकीकृत समाजवादीबाट २ मन्त्री र १ राज्यमन्त्री गरी ३, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीका १/१ जना रहेका छन् ।