काठमाडौं, २० बैशाख । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

टोपबहादुर गत वर्षको ४ मंसिरमा भएको निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

मंगलबार मात्र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । यसअघि पक्राउ परेका व्यक्तिहरूले बयानमा राईलाई पनि रकम बुझाएको खुलेपछि उनलाई पनि पक्राउ गरिएको हो ।

यो प्रकरणमा उनका छोरा निरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । यद्यपि उनी पक्राउ परिसकेका छैनन् ।प्रहरीले यसअघि केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ ।