जनकपुरधाम, १९ बैशाख । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष देबु यादवले मेयर र उपमेयरको कार्यशैलिप्रति असन्तुष्टि जनाएका छन् ।

वडाध्यक्ष यादवले नगरप्रमुख मनोजकुमार साह र उपप्रमुख किशोरी साहले आफूहरुलाई कुनै सहयोग नगरेको आरोप लगाएका हुन् ।

वडाध्यक्ष यादवले नगरभित्र अहिलेसम्म नयाँ अनुभूति केही पनि नभएकोसमेत सुनाए । ‘नयाँ काम केही भएन । सबै काम गर्न आएकाले मेयर–उपमेयरलाई सधैँ हाम्रो ‘सपोर्ट’ हुन्छ । तर, जनताले कल्पना गरेअनुसारको काम हुनुपर्दछ ।जनकपुरधामबासीले व्यवस्थित जनकपुरधामको परिकल्पना गरेका छन् । गफ र भाषण गर्ने होइन, काम गर्ने हो, ’उनले भने ।

उनले ऐन, नियम, रणनीति र दीर्घकालीन सोच बनाएर अघि बढेमात्रै उपमहानगरले सफल नेतृत्व पाएको अनुभूति हुने जिकिर गरे । सम्बन्धित वडाध्यक्षहरुलाई जानकारी नै नदिने र गहनरुपमा छलफल नै नगरी नेतृत्व अघि बढेको पनि उनको गुनासो थियो ।

उनले भने, ‘वडाका कुनै गरीबलाई निशुल्क उपचार गराउन उपमहानगरमा निवेदन लेख्दा विभिन्न बहाना बनाइन्छ । सिफारिसका लागि पनि यहाँ पैसा माग्ने गरिन्छ ।’

उनले आफ्नो वडाको कार्यालय भवन निर्माणका लागि उपमहानगरले मात्र १० लाख उपलब्ध गराएको गुनासोसमेत सुनाए । दोस्रो कार्यकालमा नयाँ मेयर आउँदा नगरबासीले परिवर्तनको आश गरेपनि शुरुवाती परिणाम नै सुखद् नरहेको उनको भनाइ थियो ।

‘अब जनकपुरधाम परिवर्तन होला । गएको पाँच वर्ष नगरबासीले कुनै अनुभूति गर्न सकेनन् । अहिले पनि हामी फेरी गहनरुपमा छलफल गरिरहेका छैनौं । कर्मचारीदेखि मेयर, उपमेयरसम्म थुप्रै गल्ती कमजोरी र चुनौती छन्,’ वडाध्यक्ष यादवले भने । यस्तो तरिकाले राजधानी सहरको विकास गर्न नसकिने उनको भनाइ छ ।

उपमहानगरको सेवा प्रवाह, पूर्वाधार निर्माण, सामाजिक विकास, जनस्वास्थ्यको प्रवद्र्धनलगायतका विषयमा मेयर साहलाई फरक सुझाव दिएका वडाध्यक्ष यादवले उपमहानगरको नीति निर्माण र रणनीति दीर्घकालीन नरहेको टिप्पणी गर्दै तत्काल सुधार गर्नुपर्ने बताए ।

वडा–वडामा नगरप्रहरी खटाउनुपर्ने, वडाका कर्मचारीहरु परिवर्तन गर्ने, नीति निर्माण र भरपर्दो सेवा प्रणाली विकास, इन्टरनेट, शौचालय तथा फोहोर व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ ।