काठमाडौं, १९ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था टाट पल्टिन लागेको र वर्तमान सरकार रहिरहे देश असफल राष्ट्र बन्ने दाबी गरेका छन् ।

नेकपा एमाले काठमाडौं महानगर कमिटीले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार रहिरहे देश असफल राष्ट्र बन्ने बताएका हुन् ।

हालै सार्वजनिक राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदन उल्लेख गर्दै उनले देशको अर्थतन्त्र ओरालो लागेको बताउँदै देश असफल राष्ट्र बन्ने खतरा औँल्याए । अर्थतन्त्र नसुधारे अबको डेढ वर्षमा देश असफल राष्ट्र बन्ने उनको दाबी छ ।

आर्थिक अभावका कारण आयातमा समेत कमी आएको बताउँदै ओलीले तीव्र गतिका साथ अर्थतन्त्र ऋणात्मकमा गएको बताए ।

अर्थतन्त्र संकटमा भएकै कारण सरकारले स्थानीय तहमा जाने समपूरक बजेट ५० प्रतिशत कटौती गरेको पनि ओलीले बताए ।