काठमाडौं, १९ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु)को उपचारका क्रममा मृत्यु भएको छ ।

मेडिसिटी अस्पतालमा उपचाररत उनको उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा चुनाव प्रचारप्रसारका बेला चितवनमा रहँदा लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए । उनी वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका थिए ।

उनलाई सुरुमा चितवनकै पुरानो मेडिकल कलेजमा उपचारका लगिएको थियो । थप उपचारका लागि वैशाख ५ गते उनलाई हेलिकोप्टरबाट ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।

रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशी र थापा सँगै छतमा सुतेका थिए । थापा छतबाट कसरी खसे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका लागि प्रहरीले रास्वपाका महामन्त्री ढकालका सवारी चालक कालुराम राजवंशीलाइ नियन्त्रणमा लिएको छ । अहिलेसम्म उनको भनाइ सार्वजनिक गरिएको छैन ।