काठमाडौं, १९ बैशाख । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

वैशाख १० गते भएको उपनिर्वाचनमा बाराको निर्वाचन क्षेत्र नम्बर–२ बाट विजयी भएका उनलाई सभामुख देवराज घिमिरेले मंगलबार सिंहदरबारमा सांसद पदको शपथ दिलाएका हुन् ।

चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तनहुँ–१ बाट निर्वाचित रास्वपाकै डा. स्वर्णिम वाग्लेले यसअघि वैशाख १५ गते नै शपथ लिइसकेका छन् ।

उपेन्द्र यादव यसअघि गत ४ मंसिरको निर्वाचनमा सप्तरी–२ को प्रतिस्पर्धामा जनमत पार्टीका अध्ययक्ष डा. सीके राउतसँग पराजित भएका थिए ।

बारा–२ बाट जसपाबाट निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएपछि उपेन्द्र बारामा सरेका थिए । उनले त्यहाँ जनमतका शिवचन्द्र कुशवाहालाई ५ हजारबढी मतले पराजित गरेर सांसदको यात्रा तय गरेका हुन् ।