श्रमिकको आर्थिक तथा सामाजिक रूपान्तरण आवश्यक : अध्यक्ष नेपाल

काठमाडौं, १८ बैशाख । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मजदुर वर्गका सामाजिक सुरक्षा, सुरक्षित कार्यस्थल, हकहित एवम् अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
एकीकृत समाजवादी निकट ट्रेड युनियनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले श्रमिक वर्गको अधिकारका साथै राज्यबाट सेवासुविधा उपलब्ध गराउन आवश्यक नीति निर्माणमा उनीहरूको सहभागिता हुनुपर्ने बताएका हुन् ।
मुलुकको विकास र आर्थिक समृद्धि प्राप्त गर्न उनीहरूको आर्थिक तथा सामाजिक रूपान्तरणको खाँचो रहेको उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री नेपालले उत्पादनको विभिन्न क्षेत्रमा क्रियाशील श्रमिक वर्गको अधिकार तथा हितको संवर्द्धन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको भन्दै उनीहरूले पनि लोकतान्त्रिक मूल्यमान्यताको रक्षा गर्नुपर्ने विचार व्यक्त गरे ।
सामाजिक शोषण, अन्याय, विभेदको अन्त्य गरी गरिबी न्यूनीकरण गर्न सकिने बताउँदै उनले त्यसका लागि कम्युनिष्ट पार्टीको स्थापना गरिएको र मूलधारको कम्युनिष्ट सिद्धान्तलाई आफ्नो पार्टीले आत्मसात् गरेको बताए ।
यही वैशाख २० गतेसम्म चल्ने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


