विराटनगर, ५ चैत । पूर्वमन्त्रीसमेत रहेका गोपाल किरातीले पहिचानको आन्दोलनलाई दबाउने प्रयास गरे बन्दुक उठ्नसक्ने चेतावनी दिएका छन् ।

प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै आइतबार विराटनगरमा आयोजित प्रदर्शनपछि सम्बोधन गर्दै किरातीले पहिचानलाई दबाबउन खोज्नेहरू राजतन्त्रजस्तै समाप्त भएर जाने दाबी गरेका हुन् ।

‘श्री ५ सरकार जसरी मिल्काए जस्तै कोशी प्रदेश सरकारको साइनबोर्ड त्यसैगरी मिल्काउने उनले चेतावनी दिएका छन् ।

‘पहिचान आन्दोलन पूर्वबाट सुरु भएकोमा देशभरि फैलनेछ । यो आन्दोलन प्रदेशको नामकरण पुनः पहिचानको आधारमा नभएसम्म जारी रहन्छ उनले भने ।’

प्रदेशवासीले अतिरिक्त अधिकार नभई पहिचान माग गरेको उनले बताए । कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो ।

प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका ५ ठाउँमा निषेधाज्ञा जारी गरेको थियो । त्यसलाई तोडेर प्रदर्शनकारी बढेपछि प्रहरीले अश्रुग्यास र हवाईफायर गरेको हो । तर, पनि उनीहरू पछि हटेनन् ।

प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेपछि असन्तुष्ट पक्षले पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने माग गर्दै आएका छन् ।