एजेन्सी, १९ फागुन । मध्य ग्रीकमा गत मंगलबार राति भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या ५७ पुगेको बिहीबार यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् ।

उनीहरुले सो दुर्घटनाका घाइतेहरुमध्ये थप केहीको मृत्यु भएको बताएका थिए । उक्त घटनामा यसअघि नै ३६ जनाको मृत्यु भएको बताइएको थियो ।

ती घाइते भएकाहरुमध्ये ६६ जना अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएका गम्भीर अवस्थामा रहेका थपको निधन भएपछि यसबाट ज्यान जानेको सङ्ख्या ५७ पुगेको अधिकारीहरले जानकारी दिएका हुन् ।

मध्य ग्रीकको टेम्पी नगरपालिकामा मङ्गलबार मध्यरातमा मालबाहक रेलमा ठोक्किएर दुर्घटना भएको यात्रुवाहक रेल ठक्करपछि रेलको अघिल्लो भाग आगोको लप्कामा फसेको थियो । यहाँको रेल सेवाका अधिकारीले दिएको जानकारीअनुसार उक्त यात्रुवाहक रेलमा तीन सय ४६ जना यात्रु सवार थिए । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको ग्रीक प्रहरीले जनाएको छ ।

ग्रीक प्रहरीका प्रवक्ताले अझै पनि सो दुर्घटनामा परेका ४८ जना घाइते अस्पतालमा रहेका छन् । ती घाइतेमध्ये ६ जना गम्भीर अवस्थामा रहेका र उनीहरुको आइसियुमा उपचार भइरहेको छ । यहाँको अग्नि नियन्त्रक सेवाले शुक्रबारसम्ममा घाइतेको खोजी र सम्पूर्ण उद्धारको काम सक्ने अनुमान गरिएको छ ।