काठमाडौं, १९ फागुन । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि जित निकालेको छ । नेपालले पीएनजीलाई ३ विकेटले हराएको हो ।

पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य नेपालले अन्तिम २ ओभर बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । नेपालका लाग आसिफ शेखले नट आउट ८६ रनको अर्धशतकीय पारी खेले । १३० बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै नेपालका लागि सन्दीप लामिछानेले करियरकै उत्कृष्ट ब्याटिङ गरे । उनले ५० बल खेल्दै ३ चौकाको सहयोगमा ३५ रन बनाए । सन्दीपले एकदिवसीय क्रिकेटमा पहिलो पटक ३५ रन बनाए ।

नेपालका लागि कुशल मल्लले २३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पीएनजीका लागि असाड भालले तीन विकेट लिए । त्यस्तै सेमो कामेअ र सेसे बाउले दुई–दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरको पीएनजीले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १७९ रन बनाएको थियो ।

पीएनजीका लागि टोनी उराले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै हिरी हिरीले ३१ रन बनाउँदा प्लिन दोरीगाले २६ रनको योगदान गरे ।

नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह एरीले दुई–दुई विकेट लिए । त्यस्तै करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले एक–एक विकेट लिए ।

जितसँगै लिग–२ मा नेपाल ३१ खेलबाट ३० अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । पीएनजी ३१ खेलमा ७ अंक जोडेर तालिकाको सातौं स्थानमा छ ।