कांग्रेस आठदलीय गठबन्धनमा भएको सहमति अनुसार अघि बढ्छ : गगन थापा

काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठदलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताएका छन् ।
राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आज संयुक्त गठबन्धन दलहरुले आयोजना गरेको अभिमुखिकरणमा उनले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँबायाँ नलाग्ने बताए ।
कांग्रेस संविधान कार्यान्वयन र जनतामा परिवर्तनको आभाष दिन प्रतिबद्ध रहेको भन्दै उनले गठबन्धनलाई पाँच वर्ष काम नगर्ने छुट नभएको बताएका हुन् ।
महामन्त्री थापाले राष्ट्रपति पदको गरिमा र मर्यादालाई उँचो बनाउनका लागि रामचन्द्र पौडेल सबैभन्दा उपयुक्त पात्र भएको बताए ।पौडेल गणतन्त्र स्थापना, लोकतन्त्र र संविधानका लागि लडेको निष्ठावान व्यक्ति भएको भन्दै उनले राष्ट्रपति पदमा निर्वाचित गर्नुपर्ने बताए ।
उनले उपराष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद् बिस्तारको काम अघि बढ्ने समेत बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पदको लोभ नगरी संविधान र व्यवस्थाको रक्षाका लागि नयाँ गठबन्धनलाई समर्थन गर्नुभएको उनको भनाइ छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले संविधानको रक्षा गर्दै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन आठ दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए ।
उनले नयाँ गठबन्धनले जनतामा सकारात्मक छाप समेत परेको समेत दाबी गरे । राष्ट्रपति पदका उम्मेदवार पौडेल लोकतान्त्रिक आन्दोलनको अगुवा हुनुका साथै निष्ठावान व्यक्ति भएको तथा सबै हिसाबले योग्य नेता भएकाले उनलाई निर्वाचित गराउन सबै लाग्नुपर्ने बताए ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले प्रजातन्त्र, लोकतन्त्रको रक्षाका लागि लडेका रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित गर्नु नै गठबन्धनको मर्म र भावना भएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


