जनकपुरधाम, २४ पुस । लिखत सम्बन्धी कसुर र नागरिकता किर्ते मुद्दामा फरार रहेका सप्तरीका एक वडाध्यक्षलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष ६३ वर्षीय रहमान मियाँलाई कारागार चलान गरिएको हो ।

वडाध्यक्ष मियाँसहित २१ जनाले एक आपसमा मिलेमतो गरी राज्यकोषबाट लक्षित वर्गलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्ता वितरणमा सरकारी कागज र छाप किर्ते गरी फरार भएका थिए ।

वडाध्यक्ष मियाँले एउटै व्यक्तिको नाममा दुईवटा नागरिकता नम्बर प्रचलनमा ल्याई सरकारी कोषबाट ८३ लाख ४१ हजार १०८ रुपैयाँ निकासा गरी हिनामिना गरेका थिए ।

सरकारी कागज तथा नागरिकता किर्ते मुद्दामा फरार रहेका मियाँलाई प्रहरीले सप्तरीको राजविराज नगरपालिका वडा नम्बर–८ बाट पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

सप्तरी जिल्ला अदालतले आइतबार वडाध्यक्ष मियाँलाई पुर्पक्षका लागी कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।