जसपा मधेस प्रदेशको संसदीय दलको नेता चयनका लागि सोमबार निर्वाचन हुने

जनकपुरधाम, २४ पुस । जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेशको संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने भएको छ ।
मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने अधिकांश दलले संसदीय दलको नेता चयन गरिसकेपनि जसपाले भने दलको नेता चयन गर्न सकेको छैन् । दलको नेता चयनका लागि सोमबार मतदान हुने गरी कार्यतालिका तय गरिएको छ ।
जसपाले सोमबार बिहान ९ देखि ११ बजेसम्म दलको नेताका लागि उम्मेदवारहरुको मननोयन पत्र दर्ता गर्ने समय तोकेको छ । यस्तै, ११ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, ३ः३० बजेसम्म नाम फिर्ता लिने र ४ बजेसम्म दाबीविरोधका लागि समय निर्धारण गरिएको छ ।
दिउँसो ४ः३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र साँझ ५ देखि ६ बजेसम्म मतदान गर्ने कार्यतालिका छ । मतदान सम्पन्न भएलगत्तै मतगणना गरेर परिणाम सार्वजनिक गरिने जसपा संसदीय दलको निर्वाचन समितिका संयोजक लालकिशोर साहले जानकारी दिए ।
जसपा मधेस प्रदेशसभाको संसदीय दलको नेताका लागि मुख्यमन्त्री लालबाबु राउत र नेता रामअशिष यादव प्रमुख दाबेदार छन् ।
राउतको नाममा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत् दलको नेता चयन गर्न लागिएको हो । पार्टी अध्यक्ष उपेन्द्र यादवले दलको नेता चयन गर्न नसकेपछि सो विषयमा निर्णय गर्न पुनः प्रदेश कमिटीलाई नै जिम्मा लगाएका थिए ।
गत बिहीबार र शुक्रबार जनकपुरधाममा बसेको प्रदेशसभा सदस्यहरूको बैठकमा दलको नेतामा सहमति नजुटेपछि सो अधिकार पार्टी अध्यक्ष यादवलाई दिइएको थियो । तर, पार्टीमा दलको नेता बन्न आकांक्षीहरू बढी भएपछि पार्टी अध्यक्ष यादवले फेरि पार्टीको प्रदेश कमिटीलाई नै जिम्मेवारी दिएका थिए ।
मधेस प्रदेशसभामा जनता समाजवादी पार्टीका १६ जना प्रदेशसभा सदस्य छन् ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


