मानवताको सन्देश दिने महापर्व ‘छठ’

–ज्योति झा
जनकपुरधाम, १२ कार्तिक । पर्वत्योहारको मामिलामा हाम्रो मिथिला असाध्यै धनि छ । र, हामि भाग्यशाली छौं कि हाम्रो जन्म मिथिलामा भएको छ । यहाँको हरेक महिना, हरेक रंग र हरेक पर्वको आफ्नो एउटा छुट्टै विशेषता छ ।
हुनत यस्ता धेरै पर्व छन् जुन हाम्रो लागी एकदमै खास र बिशेष हुन्छ र त्यहि पर्व मध्ये सबभन्दा ठूलो र कठिन पर्व हो छठ । छठ नेपालमा मात्र नभई भारतका उत्तरी क्षेत्रमा समेत हिन्दूले मनाउने महत्वपूर्ण पर्व हो । यो पर्व नेपालमा विशेष रुपले तराई मधेस क्षेत्रमा श्रद्धा एवम् भक्तिपूर्वक मनाइन्छ । यो पर्व चारदिनसम्म मनाइन्छ र यसलाई छठ पूजा, छठीमाई पूजा, डाला छठ, सूर्य षष्ठी पूजा र छठ पर्वका नामले चिनिन्छ ।
र, खास गरेर यो पर्व सूर्य देवताको उपासनाका लागि मनाइन्छ । सूर्यबिना हाम्रो जिवन पनि अन्ध्यारो छ । सृष्टिको शुरुवात देखि नै हाम्रो सनातन धर्म मा सूर्य उपासना पूजाको ठुलो महत्व छ । छठ एउटा कठिन तपस्याजस्तै हो र प्रायः महिला यो पर्वमा सहभागी हुन्छन् । तर पछिल्लो समयदेखि पुरुषहरु पनि उल्लेख्यरुपमा व्रत बस्न थालेका छन् ।
यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । हिन्दूहरुको आस्थाको यो एउटा यस्तो पर्व हो जहाँ मूर्तिको पूजा हुँदैन । पूजामा छठ माताको लागि व्रत बसिन्छ । यो व्रत अरु व्रतभन्दा एकदमै कठिन मानिन्छ । त्यसैले छठ पूजामा धेरै कुराको ध्यान राखिन्छ ।
छठ माताको प्रसाद बनाउँदा पवित्रतामाथि ध्यान राख्नुपर्छ । हाथ खुट्टा धोएर बल्कि नुहाएर प्रसाद बनाउनु पर्छ । छठ पूजामा चढाउने प्रसाद तयार गर्दा जबसम्म प्रसाद तयार हुँदैन तबसम्म केहि खानु हुँदैन ।
छठ माताको प्रसादमा खुट्टा लाग्नु हुन्न र सूर्यलाई अर्घ्य दिने समयमा चाँदी, स्टील, शीशा वा प्लास्टिकले बनेको वर्तनहरुको प्रयोग पनि गर्नु हुन्न । जहाँ छठको प्रसाद बनाइन्छ त्यहाँ खाना खानु हुँदैन, घर जुठो हुनुहुँदैन ।
अग्निपुराणमा पनि षष्ठी व्रत प्रसङ्ग उल्लेख छ । चौथो वर्षको वनबास र एक वर्षको अज्ञात बास बसेका बेला कुन्ती, द्रौपतीसहित पाण्डवले छठ व्रत गरेको वर्णन महाभारतमा समेत वर्णित छ । यो व्रत त्रेतायुगमा माता सीताको आमा र दशरथकी रानी कौशल्याले पनि गरेको कथन छ । यो पर्व पनि दशैँ जस्तै वर्षमा दुईपटक हुन्छ, कात्तिक र चैत महिनामा । तर कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ ।
यो पर्वमा चोखो र शुद्धतामा अत्यन्तै ध्यान दिइन्छ । यो पर्व विधि विधानले गरिए सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास छ । यो मात्र एउटा यस्तो चाड हो, जसमा अस्ताउन लागेको सूर्यको साथै उदाउँदो सूर्यको आराधना पनि गरिन्छ । हाम्रो समाजमा उदाउँदो वा प्रतिष्ठित व्यक्तिलाई सबैले ढोग्छन् तर अस्ताउन लागेको घाम, गरिब तथा अबलालाई कसैले हेर्दैनन् । त्यही भएर यो पर्वले हामीलाई के सिकाउँछ भने सबैलाई समान व्यवहार गरौँ, हामी मान्छे हौँ र हाम्रो धर्म मानवता हो भन्ने सन्देश पनि दिन्छ ।
छठको प्रसादमा उखु, केराउ, केरा, मिठाइ, नरिवल, अदुवा राखिन्छ । विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ । यो पर्वमा मान्छेले थरिथरिका भाकल गर्छन् जस्तै केही भक्तजन घरबाट साँझ र बिहान घिस्रिँदै नदी वा पोखरीको किनारामा गई स्नान गरेर भाकल पूरा गर्छन् भने कतिको मनोकामना पूरा भए नाच नचाउने, पोखरीमा माटोको हाती राख्ने तथा दियो बाल्ने कार्य पनि गरिन्छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ ।
पहिलो दिन नहाय खाय : छठको पहिलो दिनलाई नहाय खाय भनिन्छ, यो दिन व्रतालुहरु घरको सरसफाइ गरी हात खुट्टाको नङ काट्छन र चोखो भई सफा कपडा लगाएर पूजा गरी शुद्ध शाकाहारी भोजन गर्छन् ।
दोस्रो दिन खरना : यो दिन दिनभर व्रत बसेर साँझ व्रतालुहरु सख्खरको खिर र लौकाको तरकारी बनाइ शुद्ध भोजन ग्रहण गर्दछन् र त्यसपछि प्रसादसरह सबैलाई दिन्छन् । यो दिन एक छाक मात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात् अघिल्लो दिन दिनभर पानीसमेत नखाई निराहार व्रतको पूर्वाभ्यास हो ।
तेस्रो दिन सँझुका अर्घ : यसदिन व्रतालु पानी समेत नखाई निराहार बस्छन् । साँझपख पोखरी ,तलाउ, ईनार जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठका दिन सूर्यलाई चढाउन बनाइएका सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँछन् र परिवारका सबै सदस्यले अर्घ दिन्छन ।
चौथो दिन पारण : अन्तिम दिन व्रतालु तलाउ, नहर, नदीमा पुग्छन् र पालैपालो ठेकुवा, भुसुवा, फलफूल र मिठाई जस्ता प्रसाद अर्पण गर्दछन् । यो दिन उदाउँदो सूर्यलाइ अर्घ दिएर आफ्नो मनोकामना पूरा गर्न भगवानसँग प्रार्थना गर्छन् । यसरी ३६ घण्टाको अधिक समयपछि यो व्रत समाप्त हुन्छ ।
सबैमा छठको शुभकामना !
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


