जनकपुरधाम, १७ बैशाख । उचित बासस्थानको व्यवस्था नगरी घर भत्काइएको आरोप लगाउँदै सुकुम्वासीहरूले मधेश प्रदेश सरकारविरुद्ध जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

आक्रोशित समूहले प्रदेश सरकारको मुख्य गेटमै धर्ना दिँदै विरोध जनाएको हो ।

प्रदर्शनकारीहरूले मुख्यमन्त्री तथा मन्त्रीहरूको निवास रहेको परिसरलाई घेराउ गर्दै ‘पहिले पुनर्वास, त्यसपछि मात्र हटाउने’ भन्ने मुख्य माग अघि सारेका छन् ।

उनीहरूले पुनर्वासको सुनिश्चितता बिना आफूहरूलाई विस्थापित गरिएको आरोप लगाएका छन् ।

धनुषामा ‘गुठी कुटी भूमिहीन घरजग्गा व्यवस्थापन संघर्ष समिति’ गठन गरी सुकुम्वासीहरू लामो समयदेखि आन्दोलनमा सक्रिय रहेका छन् ।

उक्त समितिको नेतृत्वमा उनीहरूले संघीय तथा प्रदेश सरकारसँग व्यवस्थित बसोबासको ग्यारेन्टी माग गर्दै आएका छन् ।

प्रदर्शनकारीहरूले सरकारले वैकल्पिक व्यवस्था नगरी जबरजस्ती घर भत्काएर आफूहरूलाई उठिबास बनाएको आरोप लगाएका छन् ।

यसप्रति असन्तुष्टि जनाउँदै उनीहरूले प्रधानमन्त्रीसँगै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।