जनकपुरधाम, १७ बैशाख । जनकपुरधाममा गुठी जग्गा सम्बन्धी विवाद उत्कर्षमा पुगेको छ ।गुठीको जग्गामा घर बनाएर बसोबास गर्दै आएका स्थानीयवासीले बालेन शाह नेतृत्वको सरकारविरुद्ध सडक प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले सरकारले ‘डोजर आतंक’ मचाउन खोजेको आरोप लगाउँदै तत्काल यस्तो कदम रोक्न र प्रभावितलाई वैकल्पिक व्यवस्था गर्न माग गरेका छन् ।

उनीहरूले आफूहरू बसोबास गरिरहेको जग्गाको स्वामित्व प्रमाणपत्र (लालपुर्जा) उपलब्ध गराउनुपर्ने प्रमुख माग अघि सारेका छन् ।

जनकपुरधामका विभिन्न स्थानमा प्रदर्शन गरेका स्थानीयहरूले ‘गुठी-कुटी भूमिहीन घरजग्गा व्यवस्थापन संघर्ष समिति’ को ब्यानरमा संगठित भएर विरोध जनाएका हुन् ।

गुठी जग्गामा निर्माण गरिएका घरटहरा भत्काइने हल्ला फैलिएपछि उनीहरू आन्दोलित बनेका हुन् ।

यसअघि २०६२ सालमा भोजराज घिमिरे नेतृत्वमा गठित कार्यदलले जनकपुरधामको करिब १० बिघा गुठी जग्गा अतिक्रमणमा परेको तथ्य औंल्याएको थियो ।

सो प्रतिवेदनपछि समय समयमा गुठी जग्गा व्यवस्थापनको विषय उठ्दै आए पनि दीर्घकालीन समाधान हुन सकेको छैन ।

प्रदर्शनकारीहरूले सुकुमवासीहरूको उचित व्यवस्थापन नगरी बलपूर्वक घरटहरा हटाउने प्रयास स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

उनीहरूले वार्ता र समुचित पुनर्वासको विकल्प खोज्न सरकारसँग आग्रह गरेका छन् ।