वीरगञ्ज नाकाबाट सवारी आयात उकालो, ९ महिनामा २६ अर्ब नाघ्यो

पर्सा, १६ बैशाख । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वीरगञ्ज भन्सार नाका हुँदै सवारीसाधन र तिनका पार्टपुर्जाको आयात उल्लेख्य रूपमा बढेको छ ।
यस अवधिमा कुल रु २६ अर्ब १३ करोड बराबरका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा रु १९ अर्ब १९ करोडको आयात भएकोमा यस वर्ष रु ६ अर्ब ९४ करोडले वृद्धि भई करिब ३६.१९ प्रतिशतले उकालो लागेको हो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार सवारीसाधन र पार्टपुर्जाको माग बढेसँगै आयातमा उल्लेख्य वृद्धि भएको हो ।
राजस्व सङ्कलनमा पनि यसले सकारात्मक प्रभाव पारेको छ । चालु आवको नौ महिनामा सवारीसाधनमा प्रयोग हुने पार्टपुर्जाबाट मात्रै रु १८ अर्ब २२ करोड राजस्व उठेको छ ।
यो गत वर्षको सोही अवधिको रु १४ अर्ब ८४ करोडको तुलनामा उल्लेख्य वृद्धि हो ।
यद्यपि, इन्धनबाट चल्ने जीप, कार र भ्यानको आयात भने घटेको देखिन्छ ।
चालु आवमा ५९१ वटा यस्ता सवारी रु एक अर्ब १७ करोडमा आयात हुँदा गत वर्ष ८०५ वटा सवारी रु एक अर्ब ६६ करोडमा भित्रिएका थिए ।
त्यसैगरी, मोटरसाइकल आयातमा भने तीव्र वृद्धि देखिएको छ । नौ महिनामा ४५ हजार ६२० वटा मोटरसाइकल रु ६ अर्ब ४२ करोडमा आयात भएका छन् । यो गत वर्षको ३५ हजार ७९९ वटा (रु ४ अर्ब ६७ करोड) को तुलनामा उल्लेख्य वृद्धि हो ।
कृषि क्षेत्रमा प्रयोग हुने ट्याक्टर तथा टिलरको आयात पनि बढ्दो क्रममा छ । चालु आवमा २१ हजार ६३९ वटा ट्याक्टर तथा टिलर रु २ अर्ब ४ करोडमा आयात भएका छन्, जबकि गत वर्ष १३ हजार ८६१ वटा रु १ अर्ब ३५ करोडमा आयात भएका थिए ।
विद्युतीय सवारीसाधनतर्फ झनै उल्लेखनीय वृद्धि देखिएको छ । चालु आवको नौ महिनामा रु २ अर्ब ९८ करोड बराबरका विद्युतीय सवारी भित्रिएका छन् । यो गत वर्षको रु १ अर्ब ४८ करोडको तुलनामा १०२ प्रतिशतले बढी हो ।
विशेषगरी विद्युतीय जीप, कार र भ्यानको आयात दोब्बरभन्दा बढी बढेको छ । चालु आवमा ४९३ वटा यस्ता सवारी रु १ अर्ब ४६ करोडमा आयात भएका छन्, जबकि गत वर्ष १७२ वटा सवारी रु ४८ करोडमा सीमित थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


