महोत्तरी, १७ बैशाख । महोत्तरी जिल्लामा सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण नियन्त्रणका लागि प्रशासनले कडाइ गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै अवैध कब्जा हटाउन विशेष अभियान सञ्चालन गरिने जनाएको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा गृह मन्त्रालयको निर्देशनअनुसार जिल्लाभित्र रहेका सार्वजनिक, ऐलानी, पर्ती, सडक क्षेत्र, इनार तथा विभिन्न संस्थानका जग्गाहरूको संरक्षणमा ध्यान केन्द्रित गरिएको प्रशासनले जनाएको छ ।

सूचना अनुसार सम्बन्धित कार्यालयहरूलाई अतिक्रमण हटाउन योजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिइएको छ भने नयाँ अतिक्रमण हुन नदिन कडा निगरानी गरिनेछ ।

प्रशासनले आवश्यक परे सुरक्षा व्यवस्था र समन्वयमा सहजीकरण गर्ने जनाएको छ । साथै, सरकारी तथा सार्वजनिक सम्पत्तिको अभिलेख अद्यावधिक गरी निगरानी प्रणालीलाई थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ ।

सूचनामा संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय गरी संरक्षण अभियान अघि बढाइने बताइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले नगर प्रहरी परिचालन गर्न सक्ने व्यवस्था रहेको र स्थानीय प्रशासन ऐन, २०२८ अनुसार सार्वजनिक जग्गामा अवैध निर्माण रोक्न प्रशासनलाई अधिकार रहेको जनाइएको छ ।

जिल्ला प्रशासनले सबै सरोकारवाला निकाय तथा सर्वसाधारणलाई सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न र गैरकानुनी गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ ।