दर्शनमै सीमित जनकपुरधाम यात्रा, फोहरले टिक्दैनन् पर्यटक

जनकपुरधाम, १७ बैशाख । मिथिला संस्कृतिको केन्द्र तथा धार्मिक आस्थाको धरोहर जनकपुरधाममा दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक भित्रिने गरे पनि उनीहरूको बसाइ छोटिँदै गएको पाइएको छ ।
मुख्यतः जानकी मन्दिर र रामजानकीसँग जोडिएका धार्मिक स्थल दर्शनमै सीमित रहने प्रवृत्तिका कारण यहाँको पर्यटन क्षेत्रले अपेक्षित आर्थिक लाभ लिन सकेको छैन ।
जनकपुरधाम आउने अधिकांश पर्यटक बिहानदेखि दिउँसोभित्रै मन्दिर दर्शन गरी साँझ नपर्दै फर्किने गरेका छन् ।
साँझपख आइपुगेका पर्यटकबाहेक प्रायः सबैको बसाइ छोटो हुने गरेको स्थानीय व्यवसायी बताउँछन् । यसले होटल, यातायात, हस्तकला तथा अन्य पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको छ ।
धार्मिक ग्रन्थहरूमा जनकपुरधाममा ‘५२ कुटी र ७२ कुण्ड’ रहेको उल्लेख पाइन्छ । तर, ती ऐतिहासिक सम्पदाको अवस्था भने दयनीय छ । धेरै कुण्ड हराइसकेका छन् भने बाँकी रहेका कुण्डहरू संरक्षण अभावमा अस्तव्यस्त छन् ।
गंगा सागर, धनुष सागर, दुधमती नदी, अग्निकुण्ड, बिहार कुण्ड र दशरथ सागर जस्ता धार्मिक स्थलमा दैनिक श्रद्धालु पुग्ने गरे पनि पानीको फोहर अवस्था, दुर्गन्ध र सरसफाइ अभावका कारण स्नान गर्न सक्ने अवस्था छैन ।
भारतको महाराष्ट्रबाट आएका एक श्रद्धालुले पहिलोपटक जनकपुरधाम आउँदा ठूलो अपेक्षा राखेको बताए । ‘जानकी माताको जन्मस्थल हेर्न उत्साहित भएर आएका थियौँ । तर, यहाँको फोहर र अव्यवस्था देख्दा निराश भयौँ,’ उनले भने, ‘बस्न मन हुँदाहुँदै पनि वातावरणले साथ दिएन ।’
जानकी मन्दिर परिसरमै खानेपानी, सार्वजनिक शौचालय र जुत्ता–चप्पल व्यवस्थापन जस्ता आधारभूत सुविधा अपर्याप्त छन् ।
मन्दिर वरपर फोहरको थुप्रो देखिनु, अव्यवस्थित पसल र भीड व्यवस्थापन कमजोर हुनुजस्ता समस्याले श्रद्धालु असहज महसुस गर्छन् ।
धार्मिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मिथिला परिक्रमा मार्गमा मदिरा तथा माछामासु पसल खुलेआम सञ्चालन हुनु अर्को गम्भीर समस्या बनेको छ ।

धार्मिक यात्रामा हिँडिरहेका श्रद्धालुहरू दुर्गन्ध र अव्यवस्थाका कारण नाक छोपेर हिँड्न बाध्य छन् ।
भारतको अयोध्याबाट आएका एक सन्तले यस्तो गतिविधिले धार्मिक आस्थामाथि आघात पुर्याएको टिप्पणी गरे ।
स्थानीय स्तरमा पटक पटक विरोध भए पनि स्थायी समाधान नदेखिएको गुनासो छ ।
होटल व्यवसायीहरूका अनुसार जनकपुरधाममा पर्यटक नबस्नुको मुख्य कारण फोहर सडक, ट्राफिक अव्यवस्था र आकर्षणको अभाव हो ।
‘पर्यटक जानकी मन्दिर दर्शन गरेर फर्किन्छन् । तर, यहाँ मिथिला कला, संस्कृति, भोजन र पहिरनको अनुभव दिने संरचना छैन,’ एक व्यवसायीले भने ।
मधेश प्रदेश सरकारका पर्यटनसम्बन्धी अधिकारीहरू जनकपुरधामको संरक्षण र विकासमा चासो रहेको बताउँछन् ।
उनीहरूका अनुसार ७२ कुण्ड र ५२ कुटीको संरक्षण, धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवर्द्धन र सरसफाइ व्यवस्थापनमा काम गर्ने योजना छ ।
स्थानीय उद्योग वाणिज्य क्षेत्रका अगुवाहरू जनकपुरधामको आर्थिक विकास पर्यटनसँग प्रत्यक्ष जोडिएको बताउँछन् । ‘पर्यटक बस्ने वातावरण बन्यो भने यहाँको अर्थतन्त्रमा ठूलो परिवर्तन आउन सक्छ,’ एक उद्योगीले भने ।
उनका अनुसार जनकपुरधाम प्रवेशद्वारमै मिथिला संस्कृति झल्किने संरचना निर्माण, बजार व्यवस्थापन, ट्राफिक सुधार, सरसफाइ र सूचना प्रणाली विकास आवश्यक छ ।
स्थानीय बुद्धिजीवी र पत्रकारहरूका अनुसार जनकपुरधामलाई धार्मिक मात्र नभई सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न एकीकृत रणनीति आवश्यक छ ।
नियमित सरसफाइ, पूर्वाधार सुधार, परिक्रमा मार्गको मर्यादा कायम, पर्यटकमैत्री सेवा र स्थानीय मौलिकताको प्रवर्द्धनले मात्र पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


