सर्लाही, ३१ भदौ । सर्लाही प्रहरीले चामल भनेर चिनी लोड गर्ने दुईवटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको हरिवन नगरपालिका–१० नयाँरोडस्थित विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटेको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।

हरिवन–१० स्थित नयाँरोड बरहथवा सडकखण्डमा दक्षिणबाट उतरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ६५८५ नम्बरको ट्रक र ना ७ ख ६१४५ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा प्रदेश २–०३–००१ ख ६५८५ नम्बरको ट्रकमा ५० किलो दरको ५०० बोरा चिनी र ना ७ ख ६१४५ नम्बरको ट्रकमा ४८० बोरा चिनी फेला परेको डीएसपी यादवले बताए ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएको दुईवटा ट्रक र चिनी १ करोड ९४ लाख मूल्य बराबरको रहेको छ ।

प्रहरीले दुबै ट्रकका चालकलाई समेत नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भन्सार कार्यालय मलंगवामा पठाएको छ ।