वडाध्यक्षले अमिनलाई थुनेपछि कर्मचारी आन्दोलित

बारा, ३० भदौ । वडाध्यक्षले नापीका कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै जीतपुर सिमरा उपमहानगरका कर्मचारीहरुले कार्यालयको सम्पूर्ण कामकाज ठप्प पारेर विरोधमा उत्रेका छन् ।
जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष ताराबहादुर कार्कीले अदालतमा विचाराधीन रहेको विवादित जग्गामा नापी कर्मचारीले भनेजस्तो काम नगरेको भन्दै दुई जना अमिनलाई ३ घण्टासम्म थुनेर गालीगलौज गरेको कर्मचारीहरुले आरोप लगाएका छन् ।
कार्कीले जनजागरण मध्यवर्ती सामुदायिक वनसँग जोडिएको शान्तबहादुर मल्लको विवादित जग्गा नाप्न बुधबार दिउँसो उपमहानगरका अमिनहरु अम्बिकाप्रसाद कुशहवा र प्रदीपकुमार वैठालाई बोलाएका थिए । जग्गा नाप्न पुगेका अमिनहरु अदालतमा मुद्दा विचाराधीन रहेको विवादित जग्गामा फैसला नआएसम्म नापजाँच गर्न नसकिने भन्दै मुचुल्कामा हस्ताक्षर गर्न अटेर गरेपछि वडाध्यक्ष कार्कीले कुशहवा र वैठालाई ३ घन्टासम्म थुनेर राखेको कर्मचारीले आरोप लगाएका छन् ।
थुनिएका कर्मचारीलाई नगरप्रमुख राजन पौडेलले प्रहरीको सहयोगमा बुधवार साँझ उद्धार गरेका थिए । वडाध्यक्ष कार्कीले कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै उपमहानगरका २४ वटै वडाका कर्मचारीहरुले बिहीवार कार्यलयका सम्पुर्ण कामकाज ठप्प पारेर विरोधमा उत्रिएका थिए ।
‘वडाध्यक्षले कर्मचारीहरूसँग लिखित रुपमा माफी मागेपछि मात्रै हामी लचिलो हुनसक्छौ नत्र काममा फर्कन सक्दैनौ’ आधिकारिक ट्रेड युनियन बारा जिल्ला अध्यक्ष राजेन्द्र कार्कीले भने । २४ वटा वडासहित उपमहानगरभित्र करिव ३ सय कर्मचारी कार्यरत छन् ।वडाध्यक्षको कार्यशैलीका कारण कार्यालयमा बसेर काम गर्ने वातावरण समेत नभएको भन्दै कर्मचारीहरुले गुनासो समेत गरेका छन् ।
यता, जीतपुर सिमरा वडा नं ३ का वडाध्यक्ष ताराबहादुर कार्कीले सामुदायिक वनसँग जोडिएको सार्वजनिक जग्गा नाप जाँचको क्रममा अदालतवाट नापी नआएको र उपमहानगरको नापीले नापजाँच गरिसकेपछि सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्न आलटाल गर्दा विवाद भएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


