धनगढी, २८ भदौ । कैलाली प्रहरीले स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–१८ एच गाउँस्थित ३२ वर्षीय हिरा बिकको घरमा गहुँ राख्ने भकारीमा स्टिलको बाल्टीमा लुकाएको  अवस्थामा ८ लाख भारतीय रुपैयाँ बरामद गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

विशेष सूचनाका आधारमा घर खानतलासी गर्दा उक्त रकम फेला परेको हो । प्रहरी आइरहेको थाहा पाएपछि घरबाट भागेका बिकलाई धनगढी उपमहानगरपालिकाको बेहडाबाबा क्षेत्रबाट पक्राउ गरिएको हो ।

उनका अनुसार बिक भारतमा काम गर्ने गरेकाले बरामद भएको रकम उतैबाट चोरी गरेर ल्याएको हुनसक्ने प्रहरीले जनाएको छ । बिक केही दिन अघि मात्र भारतको मुम्बईबाट घर फर्किएका थिए ।