यौनजन्य क्रियाकलापमा संलग्न भएको भन्दै ५ भारतीय महिला पक्राउ

बारा, २८ भदौ । तराईका केही जिल्लाका राजमार्ग छेउका जंगलमा भारतीय यौनकर्मी महिलाले ट्रक तथा मोटरसाइकल चालकलाई यौन प्रस्ताव राख्ने गरेको भेटिएको छ ।
बारा, पर्सालगायतका भारतीय सीमा जोडिएका जिल्लाका राजमार्ग छेउछाउका जंगलमा भारतीय महिलाले चालकलाई रोकेर यौन प्रस्ताव राख्ने खुलेको हो । हालै बारामा प्रहरीले यौनजन्य क्रियाकलापमा संलग्न भएको भन्दै ५ जना भारतीय महिलालाई पक्राउ गरेको छ ।
बाराको आधाभार जंगल क्षेत्र तथा पथलैयादेखि पसाहासम्मको सडक किनारमा केही महिला दैनिक मोटरसाइकल चालक र ट्रकचालकलाई रोकेर यौन प्रस्ताव राख्ने गरेको गुनासो प्रहरीमा पुगेपछि अनुसन्धान भएको थियो ।
राजमार्गमा गुड्ने ट्रक तथा मोटरसाइकललाई रोकेर यौन प्रस्ताव राख्ने गरेको र कुरा मिलेको खण्डमा जंगलभित्र यौनजन्य क्रियाकलाप गर्ने गरेको प्रहरीको भनाइ छ ।
बिहान १० बजेदेखि साँझ ४–५ बजेसम्म सडकमा सवारी रोकेर चालकलाई यौन प्रस्ताव राख्ने गरेको प्रहरीको भनाइ छ । सीमावर्ती भारतीय राज्य बिहारका विभिन्न जिल्लाबाट आउने महिलाले धेरै वर्षदेखि यस्तो गतिविधि गर्दै आएको दाबी प्रहरीको छ ।
केही दिनयता प्रहरीले जंगलक्षेत्रमा नियमित गस्ती गरेको छ । गस्तीका क्रममा प्रहरीले शुक्रबार तीन जना भारतीय महिलालाई पक्राउ गरेको थियो । सोमबार पुनः दुई जना भारतीय महिला पक्राउ परेको प्रहरीले जनाएको छ ।
जंगलमा यौनजन्य क्रियाकलाप हुने गरेको गुनासो आएपछि नियन्त्रणका लागि अभियान थालिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


