पोखरा, २६ भदौ । गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयबाट ५ जना पक्राउ परेका छन् ।

गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत् ल्याउन लागेको प्रदेश निजामती ऐनको विरोधमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना र विरोधमा उत्रिएका पाँच कर्मचारी पक्राउ परेका हुन् ।

प्रदेश सरकारको यो ऐनले स्थानीय तहका कर्मचारीलाई कुण्ठित र प्र्रदेशमा बढुवामा रोक्न खोजेको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले मुख्यमन्त्री कार्यालयभित्रै विरोध गरेका थिए । त्यहाँबाट नै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिकाका वित्त व्यवस्थापन महाशाखा प्रमुख जयराम पौडेल, सहकारी महाशाखा प्रमुख भरतराज पौडेल र चन्द्रकान्त तिमिल्सिना लगायत ५ जना रहेको कास्की प्रहरीले जनाएको छ ।