सिरहा, २४ भदौ । सिरहा प्रहरीले लागुऔषध र विभिन्न हतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको कल्याणपुर–२ का १९ वर्षीय पप्पु भन्ने सुमन मण्डल रहेका छन् ।

भारतीय बजार जयनगरबाट कमलाको किनार हुँदै कल्याणपुरतर्फ गइरहेको बेला माडर प्रहरीले सिरहा नगरपालिका १७ कमला बाँधबाट मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुभाष बुढाथोकीले जानकारी दिए ।

विशेष सुराकीको आधारमा प्रहरीले साइकलमा आइरहेका मण्डललाई चेकजाँच गर्दा उनको साथबाट २ पता नाइट्रोजन ट्याबलेट, ३ पिस एम्पुल, तरबार, फर्सा एकएक थान, फाइटर रिङ ६ थान, पेस्तोलजस्तो देखिने लाइटर एक थानसहित पक्राउ गरिएको डीएसपी बुढाथोकीले बताए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।