बैंकबाट पैसा झिकेर फर्किने क्रममा एक वृद्धको १ लाख ८० हजार रुपैयाँ लुट्ने दुई युवक पक्राउ

जनकपुरधाम, २३ भदौ । धनुषा प्रहरीले नगद लुटेर फरार भएका दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–६ निकाल बस्ने २० वर्षीय भरोशी भन्ने नरेश यादव र वडा नम्बर–४ बस्ने २३ वर्षीय सरोज दास रहेका छन् ।
बुधबार दिउँसो साढे २ बजेको समयमा लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–४ सपहीस्थित मेगा बैंकबाट सोही ठाउँ बस्ने ७५ वर्षीय राम दासले १ लाख ८० हजार रुपैयाँ निकालेर घरतर्फ फर्किने क्रममा सपही गाँउबाट मोटरसाईकलमा आएका उनीहरूले दासको साथबाट सो रकम लुटेर भागेका थिए ।
घटनाको बारेमा जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतको प्रहरी कार्यालयबाट व्यापक रूपमा प्रहरी टोली परिचालन गरि दासको नगद लुटेर फरार भएका व्यक्तिको बारेमा पता लगाउँदै जाँदा उनीहरूको खोज तलाश गर्ने क्रममा बुधबार साँझ साढे ५ बजे सपही चोकबाट पक्राउ गरिएको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरे जानकारी दिएका छन् ।
प्रहरी उपरीक्षक रजौरेले भने, ‘सरोजलाई लक्ष्मीनिया गाँउपालिका वडा नम्बर–४ बाट नियन्त्रणमा लिई अनुसन्धान गर्दा सोही ठाउँको वडा नम्बर–६ निकाल बस्ने नरेश र सरोजले बैंकबाट रकम निकाल्ने व्यक्तिको रकम लुटनु पर्छ भनी योजना बनाएर बैंक नजिक आई नरेश बैंकमा प्रबेश गरी राम दासले बैंकबाट रकम निकाली बाहिर आउँदा मोटरसाईकलमा दुबैजना सवार भई दास एकान्त स्थानमा पुगेपश्चात रकम लुटेर फरार भएका थिए ।’
लुटिएको रकम मध्ये १ लाख ७५ हजार रुपैयाँ भरोशी भन्ने नरेश यादवको घर अगाडी उनकै छाप्रो घरमा माटोमा खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको थियो । त्यस्तै, सरोज दासको साथबाट १ हजार ५ सय रुपैयाँ फेला परेको र वारदातमा प्रयोग भएको ज १२ प ८५९३ नम्बरको मोटरसाईकल समेत बरामद भएको एसपी रजौरेले जानकारी दिए ।
यसअघि गत साउन ९ गते जनकपुरधाममा पनि धनुषाको सवैला नगरपालिका वडा नम्बर–४ पटेर्वा घर भई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ बस्ने शर्मिला देवी यादव एभरेष्ट बैंकबाट पैसा झिकेर घर फर्किने क्रममा उनको साथबाट पनि दुई लाख रुपैयाँ लुटिएको थियो । उक्त घटनामा संलग्न रहेका लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–७ बस्ने २० वर्षीय जितेन्द्र प्रसाद साह र सोही ठाउँ बस्ने २१ वर्षीय दीपेन्द्र मण्डललाई प्रहरीले साउन १२ गते पक्राउ गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


