जनकपुरधाम, २१ भदौ । ब्लड फर नेपाल धनुषाले महोत्तरीको मनरा सिस्वा नगरपालिकामा रक्तदान सम्बन्धित जनचेतना मूलक कार्यक्रमको आयोजना गरेको छ ।

सोमबार मनरा सिस्वा नगरपालिका वडा नम्बर–१ स्थित दुर्गा माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा रक्तदान सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।

ब्लड फर नेपाल धनुषाका संयोजक बलराम प्रसाद गुप्ताले ब्लड फर नेपालले बिरामीलाई रगत उपलब्ध गराउने, रक्त सञ्चारमा रगतको अवाभ हुँदा रक्तदाता खोजेर बिरामी र रक्तदाताको समन्वय गराउने काम देखी रगत व्यवस्थापन, नयाँ रक्तदाता उत्पादन गर्न ठाउँ ठाउँमा गएर रक्तदान सम्बन्धि जनचेतना फैलाउने, रक्तदान सम्बन्धि समाजमा फैलिएको गलत कुरालाई हटाउने र युवाहरुलाई रक्तदानतर्फ आकर्षित गर्नेलगायतका कामहरु आफूहरुले निरन्तर गर्दै आएको बताए ।

उनले आफूहरुले निरन्तर ४ वर्षदेखी विभिन्न ठाउँहरुमा रक्तदान कार्यक्रमको आयोजना गराएर रगत व्यवस्थापन गर्दै आएकोसमेत बताए । गुप्ताले रगत के हो?, रक्तदान के हो?, सुरक्षित रक्तदान कसरी गर्ने?, रक्तदान कसले कसले कुन समय गर्न सक्ने? रक्तदान गर्दा हुने फाइदाहरुलगायतका बारेमा बताउँदै रक्तदान सम्बन्धि जनचेतना दिएका थिए ।

एक जनाको रगतको RBC, WBCE र platelets बाट ३ जनासम्म बिरामीको ज्यान बचाउन सकिने महानकार्यमा सहभागी हुन सम्पूर्ण विद्यार्थीहरुलाई ब्लड फर नेपाल धनुषाका सदस्य श्याम साहले आग्रह गरे ।

युवा देशको परिवर्तनको सम्बाहक भएकोले रगत अभावको समस्या समाधान गर्ने सबै युवाको पनि कर्तव्य भएको र १८ वर्षदेखीनै प्रत्येक ३–३ महिनामा रक्तदान गरी रगत व्यवस्थापनमा सहयोग गर्नसमेत उनले आग्रह गरेका थिए ।

ब्लड फर नेपाल धनुषाद्वारा आयोजित सो जनचेतना मुलक कार्यक्रममा नगर प्रमुख मोहन पाण्डे, वडा नम्बर–१ का वडाध्यक्ष गोविन्द चौरसिया, विद्यालयका प्रधानाध्यापक, कर्मचारीसहितकाहरुको उपस्थिती रहेको थियो ।

कक्षा ९ का १३० र कक्षा १० का ११४ विद्यार्थी गरी कुल २५० जना विद्यार्थीहरुलाई जनचेतना दिइएको थियो । कार्यक्रममा ब्लड फर नेपाल धनुषाका संयोजक बलराम गुप्ता, सदस्य श्याम साह, प्रभात राय, निशान्त ओझा, अजय झा, बलराम साह, प्रत्युष ठाकुरलगायतकाहरुको पनि उपस्थिती रहेको थियो ।