जनकपुरधाम, १९ भदौ । नेपाली कांग्रेसबाट बागी भएर धनुषा क्षेत्र नं. ३ (१) बाट ललन चौधरीले उम्मेदवारी दिने भएका छन् ।

पञ्चायती शासनविरुद्ध संघर्ष गरेका ‘जिउँदो सहिद’ उपनाम पाएका चौधरीले प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

आफूलाई धनुषा कांग्रेसले बेवास्ता गरेको र पटक पटक अवसर पाएकै व्यक्तिलाई पुनः उम्मेदवार बनाउने निर्णय गरेको भन्दै आफूले यसपटक उम्मेदवारी दिने उनले बताए ।

वि.सं.२०४६ सालको पञ्चायती शासन व्यवस्था विरुद्धको प्रजातन्त्रका लागि भएको जनआन्दोलनका अगुवा समेत रहेका नेता चौधरीले साथी भाई शुभचिन्तक, समर्थकहरुको व्यपाक दवाव रहेकाले आफूले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिन तयारी थालेको बताए ।

उनले पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई आफुले पटक पटक सहयोग समर्थन र साथ दिदाँ समेत आफ्नो अवमूल्यन गरेकाले आफू उम्मेदवारी दिने निर्णयमा पुगेको बताए ।

कांग्रेसले नेता निधिको सिफारिसमा मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवलाई नै पुनः प्रदेशसभा सदस्यका लागि सफारिस गरेपछि नेता चौधरीले आफूलाई जनस्तरबाटै दवाव आएकोले उम्मेदवारी दिने बताए ।

काँग्रेसले धनुषा ३ (१) बाट आधिकारिक उम्मेदवारको रुपमा मन्त्री यादवको नाम सिफारिस गरेका छ भने नेता चौधरीले समेत उम्मेदवारी दिएमा रामसरोजका लागि यस पटकको निर्वाचन निकै चुनौतीपूर्ण हुनेछ ।