जनकपुरधाम, १८ भदौ । जनकपुरधाममा एक वृद्धलाई कुटपिट गरी उल्टै अभद्र व्यवहारको मुद्दा हालेर थुनामा राख्न लगाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१८ भोईल बस्ने ५५ वर्षीय हेमन मण्डललाई सोही ठाउँ बस्ने विश्वनाथ चौधरीका ३१ वर्षीय छोरा राजकुमार चौधरीले कुटपिट गरी उल्टै अभद्र व्यवहारको मुद्दा हालेको आरोप पीडित परिवारले लगाएको छ ।

गत साउन १४ गते साँझ करिब ७ बजेको समयमा भोईल चोकमा मण्डल र चौधरीबीच सामान्य भनाभन हुँदा चौधरीले मण्डललाई थप्पड हानेका थिए । सोही जवाफीमा मण्डलले पनि हात लगाएका थिए । उमेरको पनि ख्याल नगरेको भन्दै उनले पनि थप्पड हान्ने प्रयास गरेका थिए ।

पुरानो जमिनको रिइसबीको जिल्ला प्रहरी कार्यालय धनुषामा मेलमिलाप र छलफलको लागि तारिख चलिरहँदा सोहीबीचमा चौधरीले मण्डललाई थप्पड हानेर उल्टै अभद्र व्यवहारको मुद्दा हालेको हो ।

मिटरब्याजी रहेका विश्वनाथ चौधरी र उनका छोरालाई प्रहरीसँग बलियो सम्बन्ध रहेकोले उल्टै थप्पड हानेर उनलाई अभद्र व्यवहारको मुद्दा दर्ता गरी थुनामा राख्न लगाइएको बताइएको छ ।

अभद्र व्यवहारको लागि कुनै प्रमाण नै पेश नभई मण्डलमाथि प्रहरीले मुद्दा दायर गरेको पीडित परिवारको आरोप छ ।

मण्डलको साथै उनका श्रीमतीमाथि समेत अभद्र व्यवहारको मुद्दा हालिएको बताइएको छ । चौधरीले मण्डललाई थप्पड हान्दा उनका श्रीमती जिवछी देवी मण्डल त्यहाँ उपस्थित नभएपनि फँसाउनका लागि उनीमाथि पनि मुद्दा दायर गरिएको हो ।

सोही क्रममा हेमन मण्डलको भतिजोलाई समेत अभद्र व्यवहारको मुद्दा दायर गरिएको छ । उनको भतिजो अभिषेक कुमार मण्डल, उनकी आमा मिथिलेश देवी मण्डल, उनका बुवा सेवन मण्डल गरी ५ जनामाथि मुद्दा दायर गरिएको छ ।

भनाभन हुँदा हेमनका भतिजो अभिषेक बाबाधाम गएका थिए भने उनकी आमा र बुवा समेत घरमा नरहेको बताइएको छ । घरमै नरहेको तथा सो प्रकरणमा सँलग्न नै नरहेको व्यक्तिहरुलाई मुद्दामा प्रतिवादी बनाइएको छ ।