काठमाडौं, १५ भदौ । काठमाडौंका मेयर बालेन शाहले आफ्नै साथीको रेस्टुरेन्ट खाली गराएका छन् ।

काठमाडौं महानगरको नगर प्रहरीले त्रिपुरेश्वरको राहदानी विभाग अगाडि रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेस्टुरेन्ट र अन्य व्यवसाय हटाइएको हो ।

नगर प्रहरीको निर्देशनपछि रेस्टुरेन्टले आफ्नो सामग्री हटाएको छ । उक्त रेस्टुरेन्ट बालेनलाई मेयरमा जिताउन सहयोग गर्नेमध्येका एक सन्तोषकुमार थापाले सञ्चालन गरेका थिए ।

थापाले बालेनको चुनावी अभियान सञ्चालनमा साथ दिएका थिए । बालेनलाई चुनावी अभियानमा थापासहित कुमार बेन, भिक्टर पौडेल, गणेश कार्कीलगायतले सहयोग गरेका थिए ।

मेयर बालेनले आफ्नो रेस्टुरेन्ट खाली गराएपछि सञ्चालक थापाले सहज प्रतिक्रिया दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आजैबाट खाली गरेको छु, धन्यवाद ।’