रौतहट, १५ भदौ । भारतीय ब्राण्डको चामलको बोरामा कमसल चामल राखेर बेच्ने एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ रामजानकी धर्मशालानजिकै चामल पसल गरी बस्ने भारतको बिहार राज्य सितामढी जिल्ला बैरगनिया घर भएका ४४ वर्षीय राजेन्द्रप्रसाद गुप्ता रहेका छन् ।

भारतीय ब्राण्डको बोरामा स्थानीय कमसल जातको चामल प्याकिङ गरेर बिक्री गर्ने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको डीएसपी सुनिल मल्लले जानकारी दिए । इन्डियन ब्राण्डेड बोरामा कमसल चामल भरिरहेको अवस्थामा गृप्तालाई पक्राउ गरिएको मल्लले बताए ।

प्रहरीले गोदामबाट प्याकिङ गर्न ठिक्क पारिएको खुला चामल ५० बोरा, प्याकिङ गरिएको चामल २९२ बोरा, १२० वटा खाली बोरा र एक थान बोरा सिलाउने मेसिन बरामद गरेका हो ।

प्रहरीले गुप्ताले सञ्चालन गरिरहेको चामल पसल, गोदाम सबैमा सिलबन्दी गरी ताला लगाएको छ ।